काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि-इस्टेट) प्रकरणमा तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई कारबाही गर्नुपर्ने टिप्पणी गरेका छन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
गिरीबन्धु टी-स्टेट जग्गा प्रकरणमा झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले उल्टाएको उल्लेख गर्दै बालेनले अब तत्कालीन ओली नेतृत्वको सरकारलाई अहिलेको सरकारले कारबाही गर्नुपर्ने बताए । अहिलेको अवस्थामा सो जग्गाको मूल्य १० अरब भन्दा धेरै भएको उनको भनाई छ ।
मेयर बालेनले तत्कालीन सरकारलाई कारबाहीको भागिदार बनाउनु पर्ने बताए । उनले जग्गाको बैना गरेका सबैलाई कानुनी प्रक्रियाबाट बैना फिर्तामा जान आग्रह गर्दै अब जग्गा प्राप्तिको बाटो सकिएको उल्लेख गरेका छन् । उनले देशको अरबौँको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल महानगरका कानुनी सल्लाहकार समेत रहेका ओम प्रकाश अर्याललाई धन्यवाद समेत दिएका छन् ।




