आइपिएलमा सट्टेबाजी गराउने १५ एजेन्ट पक्राउ, बाँकेमा खोलेका थिए अफिस

काठमाडौं । बाँकेमा अनलाइन सट्टेबाजी–जुवा खेलाउँदै गरेका १५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले अनलाइन सट्टेबाजी–जुवा खेलाउँदै गरेका १५ जना पक्राउ गरेको हो । उनीहरूले अफिस खोलेरै खुलेआम अनलाइन सट्टेबाजी गरेको प्रहरीले जनाएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित अयुब हलवाईको घरमा फ्लाट भाडामा लिई अनलाइन सट्टेबाजी–जुवा सम्बन्धी काम गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ थान ल्यापटप र ५६ थान मोबाइल पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा बर्दियाको गुलरिया नगरपालिका ६ बस्ने वर्ष ३८ का विराज पौडेल, सोही ठाउँ बस्ने वर्ष २० का सास्वन पाठक, बाँके खजुरा १ का ३८ वर्षीय ईश्वर राणा, सोही ठाउँ बस्ने ३७ वर्षीय टोपबहादुर थापा, मोरङको मिक्लाजुङ(६ का २५ वर्षीय इसाक लिम्बु, सोही ठाउँ बस्ने १९ वर्षीय सुदेश राई र २२ वर्षीय रोशन दनुवार छन् ।

यस्तै खोटाङको अइसेलुखर्क ६ का २७ वर्षीय प्रविण राई, इलामको इलाम ९ बस्ने ३३ वर्षीय पर्शुराम दर्जी, सिराहाको सिराहा ७ बस्ने २३ वर्षीय राकेशकुमार यादव, पर्साको वीरगञ्ज १४ बस्ने वर्ष ३१ का सुरेन्द्र चौधरी, उदयपुरको चाङडिगडी ८ बस्ने वर्ष ३२ का भास्कर मगर, रुकुम (पश्चिम) को आठबिसकोट ९ का २६ वर्षीय दिपेन्द्र केसी, गोरखाको अजुरकोट ४ बस्ने वर्ष २९ को रुपक कोइराला र पर्वतको त्रिबेणी २ बस्ने वर्ष ३५ का सुन्दर राणा पनि पक्राउ परेका छन् ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट उक्त टोलीले ट्याब ६६, हिमाबेट र मेटाबेटमार्फत आइपिएलका खेलमा सट्टेबाजी गराउन एजेन्टको भूमिका खेल्दै आएकाे खुलेकाे छ । अवैध गतिविधि भइरहेको सो कार्यालयबाट ५६ थान स्मार्टफोन, १८ थान ल्यापटप, एउटा पीओई स्वीच र चार्जरहरू बरामद गरिएको छ ।

उनीहरूले कति रकमको कारोबार गरेका छन् भन्ने खुलिसकेको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस