चैतसम्मको ब्याज-किस्ता वा पूरै कर्जा तिरे एनआईसी एसियाका ऋणीले पाउनेछन् यस्तो छुट

काठमाडौं । एनआईसी एसिया बैंकले ऋणीहरुलाई चैत महिनामा केही छुट दिने भएको छ। बैंकले गत पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा यस्तो छुट दिनलागेको हो।

सम्बन्धित ऋणीले आफ्नो २०८० चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत निश्चित छुट प्रदान गर्ने जनाएको छ।

सोअनुसार बैंकले कमसल कर्जाको हकमा १० प्रतिशत, शंकास्पद कर्जाको हकमा १५ प्रतिशत र खराब कर्जाको हकमा २० प्रतिशत छुट दिने जनाएको छ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकको भनाइ छ।

‘यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्‍याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो’, एनआईसी एसियाले भनेको छ, ‘बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनरुत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।’

एनआईसी एसिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालबाट सेवा गर्दै आएको छ।

स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ।

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस