अर्थ मन्त्रालयले भन्यो- बजेट लेख्दैछौँ, भेटघाटमा नआउनू/सुझाव भए इमेल गर्नू

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले भेटघाटको स्वरुपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको हो ।

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ ।

बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरु व्यस्त हुने भएकाले अत्यावश्यकबाहेक भेटघाटका लागि नआइदिन पनि मन्त्रालयले अनुरोध गरेको छ । ‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ’, मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले भने, ‘ तर, सबै भेटघाट बन्द गरिएको होइन । भेट्नैपर्ने सरोकारवालाहरुलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’

इमेलमार्फत बजेटमा सुझाव दिन आग्रह
मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। मन्त्रालयले आज सोमबार एक सूचना जारी गर्दै अनलाइन मार्फत सुझाव उपलब्ध गराउन भनेको हो ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा आफ्ना अमूल्य सुझाव आगामी २०८१ वैशाख मसान्तभित्र उपलब्ध गराई सहयोग गरिदिन मन्त्रालयले सम्पूर्ण संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकमा अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab मार्फत तथा इमेल [email protected] बाट समेत पठाउन सकिने छ । आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस