हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

काठमाडौं । समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासहित आयोजना भइरहेको हिमालयन हाइड्रो एक्स्पो २०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालीको संयुक्त आयोजनामा हुन गइरहेको एक्स्पोमा समृद्धिका लागि हरित ऊर्जा भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामाग्री वा सेवासँग सम्बन्धित आइडिया प्रस्तुत गर्ने जलविद्युत उत्पादन र सेवा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्त्व दर्साउन दुई विधामा प्रतिस्पर्धा गराउन लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । हरेक प्रतिस्पर्धाका विजेताले ४४/४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सर्ट भिडियो बनाउँदा ९० सेकेन्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्त्व दर्साउनुपर्ने छ । उक्त भिडियोहरू आयोजक संस्था इप्पानको वेबसाइट, इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेबसाइट, हिमालयन हाइड्रो एक्स्पोको वेबसाइट तथा अफिसियल सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, युट्युब, लिङ्कडिन लगायतमा पोस्ट गरिनेछन् ।

सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र द्वितीय पुरस्कार दिइनेछ । प्रथम पुरस्कार ४४ हजार र द्वितीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ । भिडियो पठाउने अन्तिम मिति २७ चैत्र २०८० रहेको छ । भने ११ वैशाख २०८१ सम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ ।

त्यस्तै हाइड्रोपवार उत्पादन र सेवासँग सम्बन्धित आइडियाहरू देखाउने प्रतिस्पर्धाका सहभागीहरूले भने आफ्ना रचनात्मक आइडियाहरू एक्स्पो अवधि २०८१ वैशाख १२ देखि १४ गतेभित्र एक्स्पोस्थल भृकुटीमण्डपमा देखाउनुपर्ने छ ।

यो प्रतिस्पर्धामा सहभागी हुन भने ५ जना सम्मको समूहलाई २५ सय रुपैयाँ सहभागिता शुल्क तोकिएको छ । यो शुल्कमा हरेक व्यक्तिलाई ३ दिनसम्म लञ्च कुपन उपलब्ध गराइने छ । यसमा पनि प्रथम हुने व्यक्ति वा समूहले ४४ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । द्वितीय र तृतीय हुनेले क्रमशः २२ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

३ दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरूका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन् । ५० हजारभन्दा धेरै अवलोकन कर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस