काठमाडौं । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किरोशीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको ३८ वर्षीय धिरेन खाँ चौधरीले हत्या परेको खुलेको हो ।
आरोपी आफूभन्दा दोब्बर भन्दा धेरै उमेर कान्छी किशोरीसँग डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ज्ञानमति र धिरेन गत असार १३ गते परिवारको सहमतीबिनै धारततर्फ भागेका थिए । तर उनीहरुलाई सहयोगी हातहरु नामक गैरसरकारी संस्थाले रानी नाका जोगमनीबाट नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाएको थियो ।
उक्त संस्थाले फिर्ता गरिदिएपछि पनि उनीहरु सम्पर्कमै रहेको खुलेको प्रहरीले जानकारी दिएको छ । बालिकालाई चौधरीबाट छुटाउन परिवारले दबाब दिइरहेका थिए । परिवारको दबाबका कारण बालिका टाढिँदै गएपछि धिरेनले हत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ ।
अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका स्थायी वासिन्दा हुन् । हत्यापछि फरार उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेकी छन् । सामाजिक सञ्जालमार्फत चौधरीको ज्ञानमतिसँग चिनजान भएको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन् ।
स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन् । सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।
प्रतिकृया दिनुहॊस