काठमाडौँ । सामाजिक अभियन्ता ईः ले कसैले ढाट्न वा छल्न सिक्ने भए काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहबाट सिक्नु पर्ने टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा पोष्ट मेयर बालेनले नगर प्रहरीमाथि एमालेका कार्यकर्ताले सुरूमा आक्रमण गरेको आरोप लगाएका थिए ।
‘हाम्रो नगर प्रहरीले प्रहरीको अधिकार प्रयोग गरेको होइन, आत्मरक्षा र प्रतिवादका लागि मानवअधिकारको प्रयोग गरेका हुन् । तपाईंले हेर्नुभएको भिडिओ दोस्रो हाफ हो, पहिलो हाफलाई राष्ट्रिय सरकारले मेटाएको छ,’ उनले लेखेका थिए ।
‘पहिलो कुरा, बुधबार राति त्यत्रो ठूलो संख्यामा लठ्ठी बोकेका नगर प्रहरी, कति त सादा पोशाकमा, किन त्यहाँ उपस्थित थिए ? उनले प्रश्न गर्दै भनेका छन्,’ भ्यानमा कोचेर आधा शहर डुलाएर बुटलाठ्ठी बजार्न पाइन्छ ? बेलुका ७ बजेपछि दुई छाक टार्न सडक छेउ बस्ने सडक व्यापारीले नगर प्रहरीलाई कुटेर के फाइदा ?’
असोजको सहमतिपछि केही महिनासम्म त्यहाँ बेलुकाको समय व्यापार गर्न दिँदा समस्या नभएको ईः ले बताएका छन् । सडक व्यवसाय गर्ने व्यक्तिहरूको आ–आफ्नो राजनीतिक आस्था र केहिको ट्रेड युनियनमा आबद्धता रहने पनि ईः ले उल्लेख गरेका छन् । ‘एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, केही त बालेनकै चुनावमा पनि लागेका थिए । त्यो हुँदैमा ती मान्छे मान्छे नै भएनन् ? तिनको पीडा पीडा नै भएन ? खाली निषेध र निर्दलीय सोचले हामीलाई कहाँ पुर्याउँछ भन्ने सर्वविदितै छ,’ उनले अगाडि थपेका छन् ।




