ललितपुरमा पनि दूध पोखे किसानले

काठमाडौं । किसानहरुले ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर प्रदर्शन गरेका छन् । उत्पादन गरेको दूध बिक्री नभएको र भुक्तानी नपाएको भन्दै ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको अगुवाइमा किसानका संगठनहरुले मंगलबार दूध पोखेर प्रदर्शन गरेका हुन् ।

यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एक दर्जन बढी किसान संगठनले सरकारसमक्ष १६ बुँदे माग राख्दै आन्दोलित हुने जनाएका थिए । किसानको दुग्धजन्य वस्तु बिक्री नभएको र बिक्री भएको दूधको भुक्तानी समेत नपाएको र यसप्रति पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सरकारले बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

गत सातामात्रै चितवनमा पनि किसानले दूध पोखेर विरोध प्रदर्शन गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् । सोमबार अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन् ।

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस