माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा, आम्दानी घट्यो

काठमाडौं । पार्टीको वार्षिक आम्दानी घटिरहेको विवरण दिएको नेकपा माओवादी केन्द्रले हालै मात्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । पार्टी कार्यालय साँघुरो भएको भन्दै माओवादीले यो जग्गा खरिद गरिएको हाे ।

पार्टीका कार्यकर्ता, सांसद र मन्त्री मात्र पार्टीको आम्दानीका मुख्य स्रोत हुन् । माओवादीले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको हो । यो विषय पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा पनि उल्लेख छ ।

माओवादीको वित्तीय विवरणमा गत वर्षभन्दा यो वर्ष आम्दानी घटेको देखिएको छ । पार्टी सदस्यता, लेबी, नवीकरण, चन्दा, सहयोग, प्रकाशन बिक्री, बैंकको ब्याज गरी गरी चालु आर्थिक वर्षमा ३ करोड ४८ लाख ४४ हजार ८ सय ४३ रुपैयाँ मात्र माओवादीको आम्दानी छ । यसरी हेर्दा हालै मात्र उसले ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँ जग्गामा हालेको पैसा कहाँबाट आयो भन्ने प्रश्न उठाउँछ ।

माओवादीले पार्टीको अधिवेशन, सम्मेलन, प्रशिक्षण, निर्वाचन, कार्यालय सञ्चालन र कर्मचारीको तलब गरी ३ करोड ८१ लाख ६० हजार ३ सय ६९ रुपैयाँ खर्च देखाएको छ । जसमा सदस्यता, लेबी र नवीकरणबाट तीन करोड ४३ लाख ८५ हजार ३ सय छ । उसले जम्मा १० हजार मात्र चन्दा र सहयोग प्राप्त भएको देखाएको छ ।

पार्टीको पुँजीगत खर्च र लगानीमा जग्गा खरिदमा सबैभन्दा बढी ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँ भएको छ । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको पाँच रोपनी जग्गा र त्यसमा बनेको तीन तले भवनसहित जम्मा १२ करोड ३७ लाख ७३ हजार ५ सय ७३ रुपैयाँ बराबर सम्पत्ति देखिएको छ ।

अघिल्लो आर्थिक वर्षमा १२ करोड २६ लाख ४ हजार ४ सय ६८ रुपैयाँ सम्पत्ति लेखा परीक्षण प्रतिवेदनमा जनाइएको छ । माओवादीको नाममा एमरेष्ट बैंक, ग्लोबल बैकमा गरी १६ लाख ९२ हजार ९ सय ९७ रुपैयाँ मौज्दात रहेको देखिन्छ । वित्तीय विवरणको अनुसूची १२ मा पुँजीगत खर्च र लगानी शीर्षकमा उक्त जग्गा खरिद गरेको देखाइएको छ ।

पार्टी कार्यालय भवनको बायाँपट्टि क्यान्टिनसँग जोडिएको जग्गा खरिद गरिएको हो । माओवादीले उक्त जग्गा वरिष्ठ अधिवक्ता देवराज कटुवालबाट किनेको हो । यसअघि उनीबाटै १२ आना किनिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन …

प्रतिकृया दिनुहॊस