काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेमोक्र्याटहरुसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् । अमेरिकी मध्यावधि निर्वाचनमा संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा आफ्नो दल रिपब्लिकन पार्टीको बहुमत गुमेपछि राष्ट्रपति ट्रम्पले डेमोक्र्याट्सहरुसँग मिलेर काम गर्ने बताएका हुन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूमाथि दबाब बढेको बताए । मंगलबार भएको मध्यावधि निर्वाचनमा सत्तारुढ रिपब्लिकन पार्टीले संसद्को तल्लो सदनमा नियन्त्रण गुमाएको थियो । डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेपछि राष्ट्रपति ट्रम्पलाई धक्का लागेको छ । उनलाई अब विना अड्चन आफ्ना एजेन्डा अघि बढाउन समस्या पर्नेछ ।
हाउसमा बहुमतका लागि २ सय १८ सिट आवश्यक पर्नेमा डेमोक्रेटिक पार्टीले त्यसभन्दा बढी सिट जितेको छ । हाउसको ४३५ सिटका लागि चुनाव भएको थियो । राष्ट्रपति ट्रम्पको दल रिपब्लिकन पार्टीले सिनेटमा भने बहुमत हासिल गरेको छ । सिनेटको १ सय स्थानमध्ये ३५ सिटमा चुनाव भएको थियो । चुनावी नतिजापछि सिनेटमा डेमोक्रेटिकको ४५ र रिपब्लिकनको ५१ सिट भएको छ ।
मध्यावधि निर्वाचनलाई राष्ट्रपति ट्रम्पको दुई वर्षे कार्यकालको जनमत संग्रहका रुपमा लिइएको थियो ।
प्रतिकृया दिनुहॊस