सर्लाही पुर्‍याइएका बमजनलाई आज अदालतमा पेश गरिने

काठमाडौं । काठमाडौंमा बुधबार पक्राउ परेका कथित तपस्वी रामबहादुर बमजनलाई सर्लाही लगिएको छ । हत्या र बलात्कार आरोपमा पक्राउ परेका बमजनलाई राति साढे १ बजे सर्लाही पुर्‍याइएको हो ।

उनीविरुद्ध सर्लाहीमा उजुरी परेका कारण उता लगिएको हो । आज उनलाई सर्लाही जिल्ला अदालतमा पेश गरेर हिरासतमा राख्नका लागि अनुमति लिने तयारी प्रहरीको छ । नेपाल प्रहरीले बमजन र उनको निवासबाट बरामद गरेको ठूलो परिमाणको नगद हिजो सार्वजनिक गरेको थियो ।

यौन दुराचार र व्यक्ति हत्यामा संलग्न रहेको आरोपमा सीआईबीले बमजनलाई मंगलबार उनको निवास हात्तीगौंडाबाट पक्राउ गरेको थियो । एक बालिकामाथि यौन दुराचार गरी हत्या गरेको आरोपमा बमजनमाथि प्रहरीले अनुसन्धान गर्दै आएको थियो । अन्य थप व्यक्तिहरू पनि उनको आश्रमबाट हराएको सूचना प्राप्त भएकाले अनुसन्धान भइरहेको सीआईबीका एसपी दिनेश आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार चुन्मो भनिने २९ वर्षीया चिनीमाया तामाङ, ५१ वर्षीय सञ्चलाल वाइबा, डोल्मो भनिने फूलमाया रुम्बा र सुरेशकुमार आले बमजनको आश्रमबाट हराएको सूचना प्रहरीलाई आएको छ। उनीहरू बम्जनकै अनुयायी रहेको प्रहरीको भनाइ  छ । बमजन विभिन्न ठाउँमा आश्रम सार्दै-बस्दै आएका थिए ।

चिनीमाया, सञ्चलाल र फूलमाया सिन्धुपाल्चोकको बाँडेगाउँबाट बेपत्ता बनाएको आचार्यले जानकारी दिए । बमजन केही वर्षअघि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ स्थित टोड्के भन्ने ठाउँमा आश्रम बनाएर बसेका थिए । सोही बेला ती अनुयायीहरूलाई बेपत्ता पारिएको प्रहरीको भनाइ छ ।

पत्रकार सम्मेलनमा बरामद गरिएको नेपाली रुपैयाँसहित विभिन्न १७ देशको गरी तीन करोड ३४ लाख ६७ हजार नौ सय ६ नगद सार्वजनिक गरिएको हो । बमजनको निवासबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय रुपैयाँ र अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलरलगायत विभिन्न १७ देशका मुद्रा बरामद गरिएको एसपी आचार्यले जानकारी दिए। बरामद विदेशी मुद्रा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबरको छ ।

यसैगरी मोबाइल १४ थान, पे ड्राइभ २० थान र आइप्याड पाँच थान बरामद गरिएको छ। सीआईबीले रामबहादुर चढ्ने गाडी र मोटरसाइकल पनि बरामद गरेको छ । ती गाडी र मोटरसाइकल विभिन्न व्यक्तिका नाममा छन् । आफूलाई तपस्वी बताउँदै आएका बमजन विलासी जीवन बिताउँदै आएको पनि प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । …

प्रतिकृया दिनुहॊस