नागरिक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा बस्नेत निर्विरोध निर्वाचित

भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यबिनायकको १८ औं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको १८ औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद किरण थापाले पछिल्लो समय थुप्रै सहकारीमा समस्या देखिएको भए पनि सबै सहकारी खराब छन् भन्न नमिल्ने बताए । ‘सबै सहकारीहरू एउटै वा उस्तै होइनन् । धेरै सहकारीले सदस्यहरू लगायत समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । केही सहकारीको गलत कार्यका कारण सबैलाई एउटै डालोमा हालेर नबुझौँ’, उनले भने ।

प्रदेश सांसद थापाले सहकारीहरूले रोजगारी सृजना गर्न र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन जरुरी रहेको बताए । उनले धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरूको लोभ लालचमा नफसी सचेत हुनुपर्ने बताए ।

संस्थाले आ.व. २०७९र०८० मा ६ करोड ३२ लाख २७ हजार रुपैयाँ आम्दानी गरी ५ करोड ९७ लाख १२ हजार रुपैयाँ खर्च भई ३४ लाख ५५ हजार रुपैयाँ नाफा गरेको संस्थाका अध्यक्ष देवलाल किसीले जानकारी दिए । अध्यक्ष किसीले बेलाबेलामा आइपर्ने प्रतिकूल परिस्थिति बाबजुद संस्थाले व्यावसायिक सफलताको लागि प्रयत्नरत रही सदस्य सेवा उच्चस्तरमा कायम राख्ने लक्ष्यका साथ निरन्तर अघि बढिरहेको जानकारी दिए ।

संस्थाका लगानी योग्य रकमलाई बढी भन्दा सदस्यहरूलाई सम्भाव्यताको आधारमा तथा सुरक्षित रूपमा उत्पादनमूलक, उद्यमशील तथा रोजगारी मूलक क्षेत्रहरूमा लगानी गर्ने उनले बताए । संस्थाका उपाध्यक्ष बिदुरमानसिंह बस्नेतले सहकारीका बचतकर्ता र शेयर सदस्यहरूले पनि सहकारीले कुन क्षेत्रमा कसरी लगानी गरिरहेको छ भनी चासो लिनुपर्नेमा जोड दिए ।

लेखा सुपरिवेक्षण समितिका संयोजक विनोद काफ्लेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थालाई अझ बढी सबल बनाउनको लागि आन्तरिक नियन्त्रण प्रणालीलाई अझ चुस्त, समय सापेक्ष र प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।

अध्यक्षमा बस्नेत निर्विरोध निर्वाचित
संस्थाको १८ औं वार्षिक साधारणसभाले बिदुरमानसिंह बस्नेतको नेतृत्वमा सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा देवलाल किसी, सचिवमा रजनी के. सी. मानन्धर र कोषाध्यक्षमा माधव थापा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा न्हुच्छे रत्न खाइतु, सूर्य बहादुर खाइतु, पुरुषोत्तम सिल्पकार, विष्णु देवी चवाल, सरस्वती बस्याल न्यौपाने चयन भएका छन् ।

त्यसैगरी, लेखा समितिको संयोजकमा विनोद प्रसाद काफ्ले चयन भएका छन् । सदस्यहरूमा रामेश्वर राजथला र सुलोचना मानन्धर चयन भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक …

प्रतिकृया दिनुहॊस