४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सकिएको । यो सबस्टेसन ढल्केबर पछिको दोस्रो ठूलो सबस्टेसन हो । इनरुवा सब स्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सब स्टेसनको प्रधानमन्त्री प्रचण्डले शुक्रवार बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड १२ बजे मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियानअन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्न पुग्ने कार्यक्रम रहेको छ । माओवादीले सञ्चालन गरेको अभियानको क्रममा सातै प्रदेशका १–१ वडामा पुग्ने अध्यक्ष प्रचण्डको योजनाअनुसार मिक्लाजुङ पुग्न लागेका हुन् ।

मिक्लाजुङको कार्यक्रमपछि अपराह्न विराटनगरका विराट एक्स्पोको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यक्रम छ । एक्स्पोको उद्घाटन सकेर शुक्रवार साँझ काठमाडौँ फर्कने प्रधानमन्त्रीको कार्यपालिका छ । उनी हिजो नै विराटनगर आएका थिए । प्रधानमन्त्री प्रचण्ड आज विराटनगरमा कोशी प्रदेशसभाका सदस्य समेत रहेका कान्छा ज्वाइँ जीवन आचार्यका घरमा बसेका थिए । प्रधानमन्त्रीको सुरक्षाको लागि घरदेखि पूर्वतर्फको जमिनमा टेन्ट राखेर सुरक्षाकर्मीको टोलीलाई राखिएको थियो ।

करिब ४ हजार मेगावाट विद्युत् आदान–प्रदान हुन सक्ने
इनरुवामा ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण गरिएको छ । ४०० र २०० केभी सबस्टेसनको लागत करिब तीन अर्ब ८३ करोड रुपैयाँ छ ।

राष्ट्रिय विद्युत विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा हेटौँडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो । यसअघि सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलियत पूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनावाट २२०-१३२-३३ केभीको सबस्टेसन निर्माण गरिएको थियो ।

यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००-२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरु छन् । जसको क्षमता ९४५ एमभिए छ । त्यस्तै, २२०÷१३२ केभी १६० एमभिए क्षमताका दुई थान र २२०-३३ केभी, ६३ एमभिए क्षमताका दुई थान पावर ट्रान्सफर्महरु छन् ।

इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ । साथै, १३२ र ३३ केभी प्रसारण तथा वितरण लाइनमार्फत सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ । सबस्टेसनलाई भविश्यमा आवश्यकताअनुसार थप विस्तार गर्न मिल्ने गरी निर्माण गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस