द्रुत बसमा यात्रुको आकर्षण, अब अनलाइनमार्फत सेवा लिन सकिने

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवाको सुविधा अनलाइन प्रणालीबाट लिन सकिने भएको छ । द्रुत बस सेवामा यात्रुको आकर्षण बढेपछि अब अनलाइन प्रणालीबाट लिन सकिने भएको हो ।

त्यसका लागि एप प्रयोग गर्नुपर्ने छ । एपमार्फत यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेरेर आफू अनुकूलको यात्रा सहज बनाउन सक्ने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । हाल द्रुत बस सञ्चालनको समयतालिका पनि परिवर्तन भएको छ ।

महानिर्देशक रिजालले भने, ‘बिहान सूर्यविनायकदेखि रत्नपार्क आउने मान्छे धेरै हुन्छन् । त्यसैले ३६ वटा बस उतैबाट आउँछन् । दिउँसो ३ बजेपछि यताबाट उता जाने मान्छे धेरै हुन्छन् । ती बस फेरि साँझ रत्नपार्कबाट उता जान्छन् ।’

यात्रुको चाप हुने समय अनुसार द्रुत बस व्यवस्थापन गरिएको छ । यात्रुले समयमै बस पाउने र बस पनि रित्तै गुड्न नपर्ने अवस्था भएपछि बस राम्रोसँग चलिरहेको रिजालले बताए । ‘यात्रुको चाप बिहान र साँझमा हुन्छ । सोही अनुसार तालिकामा परिवर्तन गरिएको छ,’ उनले भने ।

विभागको टाइम कार्ड अनुसार बिहान ८ः३० बजे सूर्यविनायकबाट पहिलो बस छुट्छ । त्यसपछि हरेक तीन मिनेटमा बस छुट्छन् । विभागको मङ्सिर २८ गतेको रेकर्ड अनुसार बिहान ८स्३० बजे छुटेको ४० सिटको बसमा छुटेको समयमै २५ जना यात्रु थिए । त्यसलगत्तै तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट छुटेको अर्को ४० सिटको बसमा ३२ जना यात्रु छुट्ने स्थानबाटै चढेका थिए । सोही दिन रत्नपार्कबाट ३स्३३ बजे छुटेको ३२ सिटको बसमा ३८ जना थिए । ‘अहिले सुधार भएको छ । द्रुत बसप्रति यात्रुको आकर्षण बढेको छ,’ महानिर्देशक रिजालले भने, ‘बसहरू सिट फुल भएर चलेका छन् । अझै सुधार गर्दै छौँ ।’

द्रुत बसमा एप जडानपछि जिपिएस प्रणालीमा लैजाने विभागको योजना छ । अनलाइनबाट भाडा भुक्तानी गर्ने व्यवस्था गर्न यातायात व्यवसायीसँग छलफल भइरहेको रिजालले जानकारी दिए । ३६ वटा बसलाई ६० पु¥याउने काम पनि अघि बढेको छ । रत्नपार्क-सूर्यविनायक द्रुत बसको सफल सञ्चालनपछि अन्य रुट र सहरमा पनि विस्तार गरिने विभागले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एम्बुलेन्स सहरको ट्राफिक सुविधासहित छुट्टै सडक लेन व्यवस्था गरी असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन गरेको थियो । कार्यालय समयमा हुने अत्यधिक जामलाई ध्यानमा राखेर द्रुत बस सुरु भएको हो ।

विभागका अनुसार १९ स्थानमा बस स्टप तोकिएका छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर, जडीबुटी, कौशलटार, गठ्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बसस्टप तोकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप