बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार लगिँदै

काठमाडौँ । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । केन्द्रीय कारागार सुन्धाराले आज सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउन लागेको हो ।

नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलिरहेको छ । यसअघि मंसिर १५ गते उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौँले रिहा गर्न आदेश दिएकाहरूलाई पनि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो ।

उच्च अदालतमा ३० लाख रुपैयाँ धरौटी बुझाएमा खाँणलाई सम्पत्ति शुद्धीकरण विभागमा लगिनेछ, त्यहाँबाट पनि रिहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिने छ । यसअघिका प्रतिवादीहरूलाई विभाग र अख्तियारले तारेखमा रिहा गरेकाले खाँणलाई पनि त्यसैगरी रिहा गर्ने सम्भावना छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री खाँणलाई ७ महिनाअघि पक्राउ गरिएको थियो । हिजो उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई धरौटीमा छाड्न आदेश दिएको हो । यसअघि मंसिर १५ गते उच्च अदालतकै न्यायाधीश जनकराज पाण्डे र प्रकाश खरेलबीच खाँणलाई छाड्नेबारे राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशको इजलासमा पेस गरिएपछि खाँणलाई थुनामुक्त गर्ने आदेश भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after