काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । बिहीबारदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा निधेष गरिने महानगरले जनाएको छ ।
महानगरका अनुसार कच्चा सुर्ती, खैनी, गुट्खासहित सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको हो । महानगरले सबै पसलमा अनुगमन हुने र सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने र तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी दिएको छ ।
महानगरले धूम्रपान पनि निषेध गरेको छ । अबदेखि सार्वजनिक स्थलको एक सय मिटर वरिपरि धूम्रपान बेच्न र सेवन गर्न प्रतिबन्ध लगाइएको छ । धूम्रपान गरेमा सार्वजनिकस्थलबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना गरिने महानगरले जनाएको छ । सार्वजनिकस्थलको एक सय मिटर वरिपरि वितरण गरेको पाइए जफत गरी बन्द गरिने छ ।
यसका लागि काठमाडौं महानगरका चार क्षेत्रमा १० जनाका दरले नगरप्रहरी परिचालन गरिने र केन्द्रमा १० जना निरन्तर अनुगमनका लागि गरी पहिलो चरणमा ५० जना नगरप्रहरी परिचालन हुने र सादा पोसाकमा समेत नगर प्रहरीले अनुगमन गर्ने महानगरले जनाएको छ । त्यसपछि आवश्यकता अनुसार थप नगरप्रहरी र अन्य कर्मचारीसमेत परिचालित हुने छन् ।
प्रतिकृया दिनुहॊस