काठमाडौं । गुन्डा नाइके समीरमान सिंह बस्नेतकी श्रीमती पक्राउ परेकी छिन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतवार विहान काठमाडौंको ठूलो भर्याङबाट बस्नेतकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो ।
श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । शेरचनले दुर्गा तिवारीको हत्यालगायत अन्य घटनामा समीरमानलाई हतियार र पैसा सप्लाइ गर्ने गरेको अनुसन्धानबाट देखिएको उनले बताए ।
२०७३ पुस ४ गते युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो । यसका लागि शेरचनले लोप्साङ लामालाई हतियार सप्लाइ गरेको एसएसपी सिंहले बताए। लोप्साङसहित अन्य दुई जना कात्तिक ११ गते भारतबाट पक्राउ परिसकेका छन् । उनीहरुलाई अहिले अदालतको आदेश अनुसार जेल चलान गरिएको छ ।
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियोगमा गत मंसिरमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी पुर्पक्षका लागि नख्खु कारागारमा राखिएका समीरमानलाई मुस्ताङ जेलमा सरुवा गरिएको थियो ।
तर उनी पत्नी शेरचनले जीवन रक्षाको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण दिएकी थिइन् । सर्वोच्चले उनको रिट खारेज गरे पनि सुनुवाईको क्रममा बन्दीलाई इजलासमा उपस्थित गराउन आदेश दिएपछि हाल उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।
प्रतिकृया दिनुहॊस