लागुऔषध तस्करीमा जनप्रतिनिधि, ३७ किलो चरेससहित तीन जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले शनिबार राति बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति करिब ८ बजे बुटवल उपमहानगरपालिका -१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पक्राउ परेकामध्ये एक स्थानीय तहका जनप्रतिनिधिसमेत रहेको र पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इप्रका बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

पक्राउ हुनेमा बागलुङ जिल्ला नसीखोला गापा-९ बस्ने ३४ वर्षीय जनक घर्ती, कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका-२ बस्ने ५० वर्षीय नहारी थारू र अर्घाखाँची पाणिनी गाउँपालिका-५ बस्ने ४० वर्षीय टीकाबहादुर रास्कोटी रहेका छन् । रास्कोटी सोही वडाका वडा सदस्य रहेको प्रहरीले जनाएको छ । उक्त परिणामको लागुऔषध चरेस बागलुङ जिल्लाबाट भारत निर्यात गर्नका लागि ल्याइएको र पक्राउ परेका सबै लागुऔषध कारोबारी हुनसक्ने प्रहरी नायब उपरीक्षक मल्लले बताए । उक्त चरेस नेपाली मूल्यमा करीब रु १८ लाख बराबरको हुनसक्ने उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिचिला भिरमा युवकको शव

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ …

प्रतिकृया दिनुहॊस