समाचार हेर्दै रात बिताउँछन् विपिनका बुवाआमा

काठमाडौँ । इजरेल र हमासबीच जारी अस्थायी युद्धविरामको छैटौँ तथा अन्तिम दिन अवधि थप गर्ने गरी सम्भावित नयाँ सहमतिका लागि कतारमा वार्ताहरू भइरहेका छन् । प्रारम्भिक सङ्घर्ष विराम यसअघि नै दुई दिनले लम्बिइसकेको छ ।

सम्भावित सहमतिका विषयमा अमेरिका, इजरेल र इजिप्टका गुप्तचर प्रमुखहरूले कतारका प्रधानमन्त्रीसँग दोहामा छलफल गरेका छन् । मङ्गलवार कतारको विदेश मन्त्रालयले गाजा क्षेत्रमा ुलामो सङ्घर्षबिरामु र त्यसपछि स्थायी युद्धविराम हुने गरी काम गरिरहेको जनाएको थियो ।

हमासले अक्टोबर ७ मा इजरेलमा अप्रत्याशित आक्रमण गरेर फर्किने क्रममा २४० जनालाई बन्धक बनाएर लगेको ठानिएको छ । तीमध्ये अहिलेसम्म कुल ८१ जना बन्धकहरू मुक्त भएको इजरेली अधिकारीहरूले जानकारी दिएका छन् । मुक्त हुनेमा ६१ इजरेली छन्। ती सबै महिला र बालबालिका हुन् ।

त्यसबाहेक ठूलो मात्रामा थाई नागरिकहरू पनि हमासको नियन्त्रणबाट मुक्त भएका छन् । पछिल्लो पटक मुक्त हुनेमा एक ७५ वर्षीया महिला पनि छिन् । हमासको नियन्त्रणबाट मुक्त भएकाहरूले आफूलाई राखिएको अवस्थाको विभिन्न खाले वर्णन गरेका छन् । हमास र इजरेलबीच भएको सहमतिअनुसार हमासले मुक्त गरेका बन्धकको तेबर सङ्ख्यामा इजरेलले प्यालेस्टिनी बन्दी रिहा गरिरहेको छ ।

त्यस क्रममा पछिल्लो पटक उसले ३० जनालाई छोडेको छ । रिहा हुनेमा महिला र बालबालिका पनि रहेको इजरेल र हमासबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको कतारले जनाएको छ । त्यसरी रिहा गरिएकामध्ये एक १४ वर्षका बालक पनि छन् । इजरेलले हालसम्म १८० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिसकेको छ। इजरेलले ३०० जना प्यालेस्टिनी कैदीबन्दीहरूको सूचीबाट छानेर बन्दीहरूलाई रिहा गरिरहेको छ ।

विपिन जोशीको अवस्था अझै अज्ञात
हमासको नियन्त्रणमा रहेका इजरेलीसहित अन्य देशका नागरिकहरू मुक्त भइरहेका भए पनि नेपाली विद्यार्थी विपिन जोशीबारे हालसम्म स्पष्ट जानकारी नआएको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि उनी हमासको नियन्त्रणमा रहेको भन्दै इजरेली सुरक्षा अधिकारीहरूले विभिन्न आधारहरू दिएका छन् ।

त्यसैअनुरूप आफूहरूले उनको मुक्तिकला लागि कूटनीतिक पहल जारी राखेको नेपाली अधिकारीहरूको भनाइ छ । दुई दिनअघि मात्र नेपालका परराष्ट्रमन्त्रीले त्यसका लागि हमाससँग कुरा गरिदिन उससँग राम्रो सम्बन्ध भएका कतार र इजिप्टलाई आग्रह गरिएको बताएका थिए । उनले हमाससँग सीधै कुराकानी गर्ने आफूहरूको माध्यम नभएकाले त्यसो गरिएको बताए ।

यद्यपि थाईल्यान्डले आफ्ना नागरिकहरू छुटाउन हमाससँग सीधै कुराकानी गर्ने बताएको थियो र उसले कतार तथा इजिप्टको सहायताबाटै नागरिकहरू छुटाइरहेको बताइएको छ । विपिन जोशीको परिवारका सदस्यहरूले लगातार उनको मुक्तिका लागि वास्तविक पहल गरिदिन सरकार र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेका छन् । जोशी हमासको नियन्त्रणमा रहेको बताइए पनि हमासले सार्वजनिक रूपमा त्यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन ।

समाचार हेर्दै रात बिताउँछन् बुवाआमा
विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ । हमासले पटकपकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन् ।

बुधवार गृहजिल्ला आइपुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन् । ‘कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु’, आमा पद्माले भनिन्, ‘समाचार हेर्दै दिन बित्छ ।’ विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गरेका छन् । उनले भने, ‘सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।’

यो पनि : विपिन जोशीको रिहाइको पहल गर्न कतार जाँदै परराष्ट्रमन्त्री

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री