बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट

काठमाडौं – रोजगारी गर्न बेलायत जान आवेदन दिएका मध्ये ७१ नर्स अन्तर्वार्ताका निम्ति छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अनलाइन फाराम भरेका मध्ये ७१ जनालाई अन्तर्वार्ताका निम्ति छानेको हो ।

पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा १०० नर्स पठाउने योजना छ । तर, मापदण्ड र योग्यताका आधारमा ७१ जनाको मात्र अनलाइन फाराम स्वीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक सूचीमा परेकाहरूको अन्तर्वार्ता आउँदो डिसेम्बर ४ देखि ७ तारिखसम्म हुने विभागले जनाएको छ । अन्तर्वार्ता श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरका प्रतिनिधिमार्फत ब्रिटिस काउन्सिलमा लिइनेछ ।

जीटुजीमार्फत नेपालबाट जाने नर्सले यूके सरकारको मातहतमा पहिलो तीन महिना असिस्टेन्ट हेल्थ केयरगिभर (ब्यान्ड ४)का रूपमा काम गर्नुपर्नेछ । उक्त अवधिमा सातामा ३७ घण्टा काम गरेबापत उनीहरूले प्रतिमहिना दुई हजार २९९ पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउनेछन् ।

तीन महिनापछि भने यूकेको नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस) दर्ता हुन परीक्षा दिनुपर्नेछ । सो परीक्षामा उत्तीर्ण भएपश्चात् ब्यान्ड ५ का रूपमा प्रतिमहिना दुई हजार ३६७ पाउन्ड स्टर्लिङ पारिश्रमिक पाउने श्रम मन्त्रालयका उपसचिव डम्बरबहादुर सुनुवारले जानकारी दिए । पाइलट प्रोजेक्टको विश्लेषणका आधारमा अर्को ‘लट’मा कति, कहिले र कसरी स्वास्थ्यकर्मी पठाउने भन्ने निर्धारण हुने मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस