काठमाडौं । ‘एडप्टिङ टु इमर्जिङ बिजनेस रियालिटिस भन्ने नाराका साथ मंसिर २१ र २२ गते राष्ट्रिय व्यावसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन आयोजना हुने भएको छ ।
राष्ट्रिय व्यावसायिक पहलले विगत २०७१ सालदेखि सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलन आयोजक राष्ट्रिय पहलका अध्यक्ष कुशकुमार जोशीले सम्मेलनमा नेपालका उद्योग व्यवसायले बदलिँदो परिस्थिति र उदीयमान नव आयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्छन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी तीन विधाका ११ विषयमा विभिन्न प्रस्तुति दिने बताए ।
समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् भने वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय ऊर्जासम्बन्धी विषय रहने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
त्यस्तै अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवद्र्धन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् । सम्मेलनमा नेपाल, भारत, अष्ट्रेलिया, सिंगापुर, जापानलगायत विभिन्न देशका विज्ञ तथा वक्ता गरी तीन सयभन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधि, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने आयोजकले जनाएको छ ।
विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेको डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदूषण तथा मानव अधिकारको संरक्षणलगायतका विभिन्न कारणले उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रिया परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता बढ्दै गएको आयोजक संस्थाका अध्यक्ष जोशीले बताए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरूले समन्वय गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहॊस