काठमाडौँ । मुगु मगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाको दुई सातापछि प्रहरीले मुगुको पिना गाउँपालिका-७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई पक्राउ गरेको हो ।
धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले जनाएको छ । दुवैले अभियोग स्वीकार गरेका छन् । गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएका थिए । कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएका प्रहरी स्रोतको भनाई छ ।
घटनामा पक्राउ परेका व्यक्तिलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए । उनकाअनुसार दिउँसो कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीमप्रसाद ढकाल पुगेपछि अभियुक्त र घटनाको विषयमा प्रहरीले गरेको अनुसन्धानबाट खुल्न आएका तथ्यहरू सार्वजनिक गरिनेछ ।
कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो। कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
हत्या गरेपछि उक्त घरमा ताला लगाएर आरोपी भागेका थिए । घटना भएको पर्सिपल्ट अर्थात कात्तिक १० गते बिहान छिमेकीले घरको ताला फोडेर हेरेपछि चारै जना मृत अवस्थामा फेला परेका थिए । सामूहिक हत्या भएको घटना अनुसन्धानका डिएसपी थापा नेतृत्वको टोली, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको नेतृत्वमा टोली खटिएको थियो ।
अनुसन्धानकै लागि कर्णाली प्रहरी प्रमुख डिआइजी भीम ढकाल समेत मुगु पुगेका थिए । पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि डिएसपी धर्माराज भण्डारी नेतृत्वमा अनुसन्धान टोली खटाएको थियो ।
प्रतिकृया दिनुहॊस