विद्युत्भार व्यवस्थापनले तिहार झिलिमिली हुने

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उहाँले ढुक्कसँग विद्युत् उपयोग गरी तिहार मनाउन सकिने बताए । बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युत्भार कटौती हुँदा तिहार खल्लो भएको थियो । विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्यको घोषणा गरेको थियो । अहिले देशभर नै विद्युत्भार कटौती छैन ।

लक्ष्मीपूजाका दिन विद्युत् खपत बढ्ने भएकाले आवश्यक व्यवस्थापन गरिएको उल्लेख गर्दै प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “अब विद्युत् उपभोगको प्रोत्साहन गर्नुपर्ने अवस्था आइसकेको छ, बत्तीमा ढुक्कसँग तिहार मनाउँदा हुन्छ ।” उनका अनुसार यसपालि लक्ष्मीपूजाका दिन झण्डै एक सय मेगावाट विद्युत्भार थपिने अनुमान छ । गत वर्ष एक हजार १६५ मेगावाट विद्युत्भार लक्ष्मीपूजाको दिनमा थियो । यस वर्ष विद्युत्भार बढेर एक हजार २५० मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ ।

किफायती उपकरणको प्रयोग र सचेतनाका कारण विद्युत् व्यवस्थापन गर्न सहज भएको बताइएको छ । तिहारलाई नै केन्द्रित गरेर प्राधिकरणले भारतसँगको विद्युत् व्यापारलाई चुस्त पार्ने प्रयास गरिरहेको प्रवक्ता अधिकारीले बताए । सबै जलविद्युत् आयोजनालाई अधिकतम क्षमतामा चलाउन निर्देशन दिइसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणको कूल जलविद्युत् क्षमता ५०७ मेगावाट रहे पनि ४०८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । तिहारका लागि कालीगण्डकी ‘ए’ १४४, मध्यमस्र्याङ्दी ७० र मस्र्याङ्दी ६९ मेगावाट उत्पादन क्षमताको आयोजनाबाट बढी खपत हुने बेलुकीको समयमा पानी जम्मा गरेरै भए पनि पूर्णजडित क्षमतामा विद्युत् उत्पादन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी गराए ।

तिहारमा उद्योगधन्दा प्रायः बन्द हुने भएकाले पनि विद्युत् वितरण प्रणाली सहज हुने विश्वास प्राधिकरणको छ । ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । “तिहारकै लागि भनेर ल्याउनुपर्ने अवस्था छैन”, प्रवक्ता अधिकारीले भने, “नेपाल र भारतका सबै प्रसारण लाइनहरु चुस्त बनाइएको छ, आपत्कालीन अवस्थामा मात्रै थप आयात गछौं ।”
अघिपछि सञ्चालनमा नल्याउने गरिएको १४ मेगावाटको हेटौँडा थर्मलप्लान्ट पनि तिहारका लागि आवश्यक परे सञ्चालनको तयारी छ ।

प्रसारण व्यवस्थापनमा सम्पूर्ण ग्रिड सबस्टेशनमा ट्रान्सफर्मर, ब्रेकर, केवल र अन्य उपकरण मर्मत गरिसकिएको छ । प्राविधिक समस्या आएमा तत्कालै विशेष प्राविधिक टोली खटाउन चौबीसै घण्टा निगरानी हुने जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस