ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान

काठमाडौं । ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब पाँच किलोमिटर सडकको दायाँबायाँ साइडमा ३५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको छ । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत बत्ती जडान गरिएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले बिहीबार ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममा जडान गरिएका सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरे ।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले ‘उज्यालो नेपाल’ कार्यक्रमअन्तर्गत अहिले हरेक घरघरमा विद्युत् पुर्याउन देशैभर चलिरहेको विद्युतीकरण अभियान करिब दुई वर्षभित्रमा सम्पन्न हुने बताए ।

महालक्ष्मी नगरपालिका क्षेत्रमा लगनखेल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको र लाइन लामो हुँदा उपभोक्ताहरूबाट ट्रिपिङ लगायतका गुनासो आउने गरेको उल्लेख गरे । यसलाई सुधार गर्न अहिले सिरुटारमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको बताए ।

प्राधिकरण र महालक्ष्मी नगरपालिकाको साझेदारीमा सडक बत्ती जडानका लागि दुई करोड १६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कुल लागतमध्ये प्राधिकरणले ८६ लाख र नगरपालिकाले एक करोड ३० लाख रुपैयाँ लागत साझेदारी गरेका छन् । बत्ती राख्नका लागि ६२ वटा नयाँ पोल जडान गरिएका छन् भने बाँकी सडक किनारमै रहेका पोलहरूलाई प्रयोग गरिएको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने ९० वाट क्षमताका बत्ती जडान गरिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस