खर्चमा शिथिलता हुँदा सरकारसँग पैसाको छेलोखेलो

काठमाडाैं । गत आर्थिक वर्षको सुरुमा कर्जा उठाएर खर्च चलाएको सरकारसँग चालु आवमा भने करिब ८० अर्ब रुपैयाँ बचत छ । उच्च दरको राजस्व असुली हुँदा पुँजीगत खर्चमा आएको शिथिलताले सरकारको कोषमा ८० अर्ब रुपैयाँ बचत रहेको हो । यो खबर आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।

गत आर्थिक वर्षको सुरुमा पैसा नहुँदा सरकारले साउनमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च धानेको थियो । सुरुमै ऋण उठाएको सम्भवत त्यो पहिलो पटक थियो । ‘राजस्व संकलन उच्चदरले भएको र अन्य माध्यमबाट पनि पैसा प्राप्त भएकाले अहिले सरकारसँग करिब ८० अर्ब रुपैयाँ बचत छ,’ अर्थ मन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानाले भने, ‘तरलता पर्याप्त भएकाले अबका दिनमा खर्चमा जोड दिएर लक्ष्यअनुसारको आर्थिक वृद्धिदर हासिल गर्नुपर्नेछ ।’

सरकारले चालु आवमा ८ प्रतिशतको आर्थिकवृद्धि गर्ने लक्ष्य राखेको छ । विभिन्न कोषको सहित अहिले सरकारी ढुकुटीमा करिब २ खर्ब २५ अर्ब रुपैयाँ भए पनि यो सबै रकम सरकारले खर्च गर्न पाउँदैन । यसमध्ये करिब ८० अर्ब रुपैयाँ सरकारले खर्च गर्न पाउँछ । चालु आर्थिक वर्षका तीन महिना (साउन–भदौ–असोज) मा सरकारको राजस्व असुली ४२ प्रतिशतभन्दा माथि छ। गत वर्षको सुरुका २ महिनामा यस्तो असुली १० प्रतिशत मात्र थियो।

सरकारले राजस्वबाट मात्रै तीन महिनामा एक खर्ब ९८ अर्ब रुपैयाँ उठाएको छ । चालु बजेटले राखेको ३४ प्रतिशतको महत्वाकांक्षी लक्ष्यभन्दा पनि अहिले राजस्व बढी उठेको हो। सचिव ढुंगानाका अनुसार यही अवधिमा विश्व बैंकबाट डेभलपमेन्ट पोलिसी क्रेडिटअन्तर्गतको २३ अर्ब रुपैयाँ आएको छ । यस्तै सरकारले विभिन्न दातृ निकायहरुबाट ३७ अर्ब रुपैयाँ सोधभर्ना पनि लिएको छ। सोचेभन्दा धेरै राजस्व असुली भएको र अन्य क्षेत्रबाट पनि यसरी रकम जम्मा भएका बेला लक्ष्यअनुसार पुँजीगत खर्च नहुँदा सरकारसँग पैसाको छेलोखेलो भएको हो।

चालु आवको तीन महिनामा सरकारले करिब २२ अर्ब ६९ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको छ । यो सात दशमलब १९ प्रतिशत मात्र हो । धेरै पुँजीगत बजेट दिएका विकासे मन्त्रालयहरुले १० प्रतिशतभन्दा बढी खर्च गर्न सकेका छैनन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस