काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीले गोली हानेर पक्राउ गरेका व्यक्ति सिन्धुलीका भएको खुलेको छ । दिउँसो काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ को जगडोलमा ३ वटा मोटरसाइकलमा आएका ‘लुटेरा समूह’विरुद्ध उपत्यका उपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेको हो ।
उनीहरु लुट्न गएको सूचनाका आधारमा पिछा गरिरहेको प्रहरी टोलीलाई नै आक्रमण गर्न लागेपछि गोली चलाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए । प्रहरीको गोली लागेका सिन्धुलीको कमलामाई नगरपालिका २ का अन्दाजी ३६ वर्षीय अमर घलान रहेको मैनाली हुन् ।
घलानको घुँडामुनि र तिघ्रामा गोली लागेको छ । उनलाई प्रहरीले नेसनल मेडिकल कलेज जोरपाटी अत्तरखेल लगेको छ । प्रहरीले लुटेरा समूहका थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका अन्दाजी ३६ वर्षीय शन्त लामा र सिन्धुपाल्चोकका अन्दाजी ३० वर्षीय जितेन लामा रहेका छन् । उनीहरु चढेका दुई वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।
तर अर्को मोटरसाइकलमा रहेका दुई जना भने फरार भएका छन् । उनीहरुको खोजतलास प्रहरीले व्यापकरुपमा गरिरहेको पनि मैनालीले बताए । प्रहरीले उक्त समूहबाट ७ राउण्ड गोलीसहित एउटा पेस्तोल बरामद गरेको छ ।



