पार्वती ऐडी
बझाङ – जिल्लाको ताल्कोट गाँउपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । स्याउँला ल्याउन जंगल जानेक्रममा भीरबाट लडेर ताल्कोट गाँउपालिका ७ धामी गाँउकी ३३ वर्षिय जानकी धामीको मंगलबार बिहान मृत्यु भएको हो ।
भीरबाट करिब ३० मिटर तल खसेर घाइते भएकी धामीको जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालउ बझाङले जनाएको छ ।
यसैबीच बझाङमै घाँस काट्ने क्रममा भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ गोठखोलाकी २२ वर्षीया पार्वती जोशीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । विकट जिल्ला बझाङमा घास, दाउरा तथा स्याउँला काट्न जाने क्रममा भीरबाट लडेर बर्सेनी धेरैको मृत्यु हुने गरेको छ ।




