[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बझाङमा भूकम्पबाट घर भत्किएका र चर्किएकालाई सुरक्षित आवासमा लैजानु पर्ने आवश्यकता रहेको उल्लेख गरेका छन् । भूकम्पपछि प्रभावित क्षेत्रको भ्रमण गरेका लामिछानेले पीडित सबैका लागि पर्याप्त त्रिपालसमेत नभएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनेँ । यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ । सबैका लागि पर्याप्त त्रिपाल पनि छैन । चिसो बढ्दो छ, ओढ्ने-ओछ्याउने आवश्यक छ । बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ । स्वास्थ्य चौकीहरू र शिक्षालयहरूलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपायसहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।’
लामिछानेले प्रधानमन्त्रीलाई अरू पुग्न नसकेको दुर्गम ठाउँमा पुग्नसमेत आग्रह गरेका छन् । ‘प्रभावितलाई अब क्रमशः अरू समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई बिस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ । प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला, उनले भनेका छन्, ‘प्रभावितलाई निराश नबनाउनुहुन आग्रह गर्दछु । हेलिकप्टरको आवाजले चर्किएका घरहरू नभत्किउन्, हेलिकप्टर गइसकेपछि सकेसम्म अरू पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला । हामी बझाङका जनताको साथमा छौँ ।’
बझाङमा भूकम्पबाट एक महिलाको ज्यान गएको छ भने केही घाइते भएका छन् । त्यस्तै सयौँ संरचनामा क्षति पुगेको छ । आज प्रधानमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाँदैछ ।
प्रतिकृया दिनुहॊस