लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौँ । नेपालमा यसवर्ष पनि मनसुन लम्बिएको छ । सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भएपनि अझै मनसुन सक्रिय देखिएको हो ।

नेपालमा यो वर्ष मनसुन सुरु हुँदा मौसमविद्हरूले अक्टोबर २ मा मनसुन बाहिरिन सक्ने अनुमान गरेका थिए । तर अहिले जल तथा मौसम विज्ञान विभागका अधिकारीहरूले यसपालिको मनसुन केही दिनले लम्बिएको बताएका छन् । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विश्लेषणका आधारमा अक्टोबर २ मा मौसम बाहिरिने दिन अनुमान गरिएपनि यसपालि मनसुन केही दिन लम्बिएको बताए । मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने उनको अनुमान छ ।

अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उनले बताए । ‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौँ र काट्ने बेलाको धान छ भने नकाटौँ । दुई/तीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौँ,’ उनले भने ।

दसैँसम्मै पानी पर्छ ?
मनसुन लम्बिएकाले कतै यसपालि ‘हिले दसैँ’ हुन्छ कि भन्ने जिज्ञासा सर्वसाधारणमा देखिन्छ । तर यस वर्ष अक्टोबर २४ मा विजया दशमी अर्थात् दसैँको टीका परेको छ । अधिकमासका कारण यसपालि दसैँ पोहोरभन्दा तीन साता ढिलो सरेको हो ।

दसैँसम्म मनसुनी वर्षा कायम रहने सम्भावना चाहिँ सामान्यतः नहुने मौसमविद्हरू बताउँछन् । दसैँ छिटो परेको वर्षचाहिँ दसैँमा पानी पर्न सक्छ । मौसमविद्हरूका अनुसार वायुमण्डलमा मनसुन बाहिरिइनसकेको अनि अर्कोतर्फबाट पश्चिमी न्यूनचापीय प्रणाली सुरु हुने बेलाको सङ्क्रमणले गर्दा कहिलेकाहीँ ठूलो वर्षा हुने गरेको पाइन्छ ।

प्रारम्भिक अवस्थामा मनसुन कमजोर हुँदा कहिलेकाहीँ मनसुनको अन्त्यतिर धेरै पानी पर्ने सम्भावना समेत हुने बताइन्छ । यस पटकको वर्षाको प्रवृत्ति र मात्राको पूर्ण मूल्याङ्कन मनसुन बाहिरिएपछि हुने भए तापनि यस वर्ष मनसुनमा औसतभन्दा कम नै वर्षा भएको विभागका वरिष्ठ मौसमविद् पौडेल बताउँछन् । यद्यपि त्यसो भन्दैमा दसैँ आसपासमा ठूलो पानी पर्न सक्ने सबै सम्भावनालाई नकार्न नसकिने उनको भनाई छ ।

नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय २ अक्टोबरलाई अनुमान गरेको थियो । हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।

यो वर्ष नेपालमा ३१ जेठमा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै ८ असारमा मनसुन देशैभरी फैलिएको थियो । यसपाली मनसुनको सुरूवाती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ । १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो ।

विपदबाट ५० जिल्ला प्रभावित
यसवर्ष मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन्। एकतीस जना बेपत्ता छन् ।

ती जिल्लामा विपदबाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै बेपत्ता हुनेहरु छ जिल्लाका छन् । सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरी जिल्लाका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए। अठ्ठाइस जिल्लाका ५५ जना घाइते भएका छन् ।

विपद्मा परेर कूल एक सय ३० घर पूर्णरुपमा क्षति भएका छन् भने एक सय ९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो ।

[News from Nepal from News Dainik Latest News of Nepal]

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री