[News from Nepal from News Dainik Latest News of Nepal]
काठमाडौँ । औसत मितिअनुसार नेपालबाट मनसुन बाहिरिने दिन (अक्टोबर २) हो । तर, यो वर्ष नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलो हुने भएको छ । अक्टोबर २ औसत मिति भएकाले योभन्दा केही ढिलो अथवा छिटो पनि मनसुन बाहिरिने सम्भावना हुन्छ । यो वर्ष औसतभन्दा ढिलो मनसुन बाहिरिने भएको हो ।
‘यो वर्ष मनसुन बाहिरिन केही ढिलो हुने भएको छ । न्यूनतम तीन–चार दिन ढिलो हुने भएको छ’, मौसमविद् बरुण पौडेलले भने, ‘नेपालबाट मौसम बाहिरिने क्रम अझै सुरु भएको छैन ।’ नयाँ प्रणाली विकास भएर केहीदिन यता देशका केही भागमा वर्षा भइरहेको उनको भनाइ छ । नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
[News from Nepal from News Dainik Latest News of Nepal]
नेपालमा पश्चिमबाट क्रमशः पूर्व सर्दै मनसुन पूर्वबाट बाहिरिन्छ । तर, यो वर्ष आजसम्म मनसुन पश्चिमबाट पूर्वतर्फ सर्नेक्रम सुरु भएको छैन । भारतको राजस्थानको पश्चिबाट मनसुन बाहिरिसकेको मौसमविद् पौडेल बताउँछन् । मनसुन बाहिरिनेक्रम क्रमशः नेपालतर्फ सर्दै जाने उनी बताउँछन् । गत वर्ष औसत मितिभन्दा १३ दिनपछि मनसुन असोज २९ (१५ अक्टोबर) मा बाहिरिएको थियो । यो वर्ष जेठ १३ गते नेपालमा मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ (जेठ ३०) हो ।




