काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन जोगाउनु मात्र उपलब्धि नभएको बताएका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले पार्टी सभापतिले प्रधानमन्त्री कहाँ गएर यो यो काम गर्नुस् भनेर भन्न सक्नुपर्ने बताएका छन् । ‘सभापतिले प्रधानमन्त्री कहाँ गएर यो/यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो । गठबन्धन जोगाउनु मात्र उपलब्धि होइन,’ उनले भने ।
उनले केन्द्रीय समितिको निर्णय विज्ञप्तिमा सीमित हुन नहुने बताए । ‘अघिल्लो केन्द्रीय समितिले विभिन्न निर्णय ग-यो । तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित हुनु भएन,’ पौडेले भने । सांसद समेत रहेका केन्द्रीय सदस्य पौडेलले सरकारले महँगी नियन्त्रण गर्न नसकेको, अनुगमन नभएको तथा बजार क्षेत्रमा ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महँगी बढेको उल्लेख गरे । उनले पार्टीबाट मन्त्री बनेकाहरूले पनि राम्रो काम गर्न नसकेको बताए ।
‘हाम्रा कुनै पनि साथी (मन्त्री) ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ । सरकारमा बस्नु मात्र उपलब्धि होइन’, उनले भने । दुबईमा लगानी ओइरिएको चर्चा गर्दै उनले देशमा पनि त्यस्तै वातावरण सिर्जना गरिनुपर्ने धारणा राखे । उनले पार्टीको आसन्न नीति अधिवेशनले आशाको सञ्चार गराउनुपर्नेमा जोड दिए ।
‘१६औँ पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ, हामीले त्यसबारे छलफल गर्नुपर्छ’, पौडेलले बैठकमा भने, ‘युवा विदेशिएको, परराष्ट्र नीति शिथिल भएको, आर्थिक अवस्था डामाडोल रहेको, बैंकमा पैसा भए पनि बजारमा नआएकोमा छलफल गरी दृष्टिकोण निर्माण गर्नुपर्छ ।’
प्रतिकृया दिनुहॊस