काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताएका छन् ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा उनले सञ्चारकर्मीसँग नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट हामी सबै शोकाकुल भएको प्रतिक्रिया दिए । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँपुस्तासम्म स्मरण गरिरहनेछन् ।’
संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको उनले उल्लेख गरे । ‘उहाँ (नेम्वाङ) संविधानबाट संविधान घोषणा गर्ने कुशल नेतामात्र हुनुहुन्थेन, उहाँ संसदीय अभ्यासमा सिद्धहस्त लोकतान्त्रिक नेतासमेत हुनुहुन्थ्यो’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।
संसद्मा कुनै विषय जटिल बन्यो भने सबैले नेम्वाङको खोजी गर्ने गरेको स्मरण गर्दै उनले भने, ‘नेम्वाङले त्यसलाई निकास निकाल्नुहुन्थ्यो ।




