काठमाडौं । जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेका बेला काठमाडौंमा पृथ्वी जोगाउने विषयमा विमर्श भएको छ । नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथैले ‘द क्लाइमेट चेन्ज च्यालेन्ज : एनी रोडम्याप फर जेन्डर रेस्पोन्सिभ एक्सन’ शीर्षकमा गरेको जलवायु सम्मेलनमा यस्तो विमर्श भएको हो ।
सम्मेलनका सहभागीहरूले पृथ्वी जोगाउने चिन्ता जनाएका छन् । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै संघसंस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने प्रतिबद्धता जनाए । जलवायु परिवर्तनसम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८)मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको मन्त्री महताको भनाई थियो ।
कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले हिमाल, पहाड र तराईका सबैतिर जलवायुले असर गरिरहेको बताइन् । यसको मुख्य जोखिममा महिला, बालबालिका परिरहेको उनको भनाई छ । हामीले प्रकृतिलाई प्रेम गर्नुपर्छ भन्ने कुरालाई पछिल्लो पुस्तालाई सिकाउन जरुरी रहेको उनले बताइन् ।
आयोजक संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले संस्थाले गर्दै आएका कामबारे जानकारी गराएकी थिइन् । अहिले हाम्रो काँधमा भविष्यको पुस्ताका लागि बस्नयोग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी रहेको उनले बताइन् । उनले कृषिमा जलवायु परिवर्तनले गम्भीर असर गरिरहेको बताउँदै खाद्य संकटतर्फ उन्मुख भइरहेको उल्लेख गरिन् । जलवायु परिवर्तनको असरबारे नीतिगत निर्माण गर्ने केन्द्र तहदेखि स्थानीय तहसम्मका काममा निरन्तर समन्वय गरिरहेको उनको भनाई छ ।
सम्मेलनलाई सम्बोधन गर्दै यूएन वुमन नेपालकी प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले नेपाल सरकारले समावेशीताका लागि चालेका कदमहरु महत्वपूर्ण भएको प्रतिक्रिया दिइन् । आयोजक संस्था साथसाथैले महत्वपूर्ण समयमा कार्यक्रम आयोजना गरेकोमा उनले धन्यवादसमेत व्यक्त गरिन् ।
मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. बुद्धिसागर पौडेलले नेपालले २०४५ सम्म कार्बन शून्यको अवस्थामा जाने लक्ष्य राखेकाले यी लक्ष्य प्राप्तिका लागि सरकार र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताए । जलवायु विज्ञ समा श्रेष्ठले जलवायुको सबैभन्दा ठूलो असर महिला तथा बालबालिकामा परेको बताइन् । जसले गर्दा यौन तथा प्रजनन अवस्थामा पनि जलवायुको असर परिरहेको उनको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष प्रजिता कार्कीले प्रमुख अतिथि वन तथा वातावरणनत्री माननीय डा वीरेन्द्रप्रसाद महतोलाई बिरुवा हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमको सञ्चालन क्रियाशील पत्रकार कल्पना शर्माले गरेकी थिइन् ।



