काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् । मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताएका हुन् ।
प्रशिक्षणमा उनले देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरुवात गरिएको बताए । ‘यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुवात गर्नेछू,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिने वाला छैन । भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ । हामीविरुद्ध घेराबन्दी छ, अनेकौँ कु प्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।’
उनले विकासको मोडेलमा गुणात्मक रूपान्तरण जरुरी रहेको बताए । ‘परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरुरी छ । असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको बताए । ‘कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ,’ उनले भने, ‘१० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईँहरूले जनताको बिचमा लैजानुस् ।’
प्रतिकृया दिनुहॊस