काठमाडाैं । अस्पतालबाटै नवजात शिशु गायब पारेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगरको ग्रीनक्रस अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोबिन्द राई छन् । डा. कर्ण कोशी अस्पतालका पूर्व मेडिकल सुपरीटेन्डेन्ट पनि हुन् ।
सरकारी सेवाबाट अवकाश प्राप्त डा. कर्ण ग्रिनक्रस अस्पतालमा काम गर्छन् भने दिपेश मेडिकल क्लिनिक सञ्चालन गर्छन । पक्राउ परेका गोबिन्द राईले युवतीलाई अस्पतालमा लगेको, अस्पतालबाट डिस्चार्ज भएपछि बच्चा अस्पतालमै रहेको भन्दै आमालाई मात्र होटलमा लगेर राखेको र बच्चा लिएर आउँछु भनेर होटलबाट निस्किएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नवजात शिशुकी आमाले दिएको उजुरीको आरधामा शुक्रबार प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुमाथि व्यक्ति बेपत्ता पारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्ने भएको छ ।




