काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । उनले संसद् अवरोधबारे छलफल गर्न राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूलाई बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार छलफल साढे १२ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ । गत निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन् । यी दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले संसद्को अवरोध खुलाउने पहल स्वरूप छलफल गर्न लागेका हुन् ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । साढे १२ बजे शीर्षसँग प्रधानमन्त्रीले छलफल गर्ने भएपछि दिउँसो १ बजे बोलाइएको संसद् बैठक प्रभावित हुने देखिन्छ ।




