काठमाडाैँ । कास्कीकाे रूपा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका-३२ बाट रूपातालतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना भएको हो । मोटरसाइकल रुपा गाउँपालिका-६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०-९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खसेको बताइन्छ ।
दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो । लगत्तै चिकित्सकले दुवै जनालाई मृत घोषणा गरे । प्रहरीले दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।




