शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंकले जारी गरेको गत आर्थिक वर्षको समीक्षा प्रतिवेदनले देखाएको छ । उक्त वर्ष शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२५५ अर्ब २६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ ।

उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु.७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.६२३ अर्ब ३८ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई रु.७ अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.९ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१८ अर्ब ५६ करोड रहेको थियो ।

निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ । नेपाल राष्ट्र बैंकले चालु खाता एवम् समग्र शोधनान्तर स्थितिसम्बन्धी विवरण मासिक रूपमा प्रकाशन गर्ने गरेको छ । शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस