काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ४९.४५ प्रतिशतले वृद्धि भएको छ । गएको आर्थिक वर्षमा बैंकले दुई अर्ब २६ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइतबार सार्वजनिक वित्तीय विवरणानुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
लक्ष्मी बैंक र सनराइज बैंक १ः१ सेयर स्वाप रेसियोमा एकापसमा मर्जरमा भएका हुन् । मर्जरपछि बैंकको यो पहिलो वित्तीय विवरण हो । बैंकले गएको वर्ष पाँच अर्ब ५० करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद फी तथा कमिसनबाट बैंकले ९९ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकलाई उक्त अवधिमा तीन अर्ब ४२ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको छ । बैंकले असार मसान्तसम्म दुई खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दुई खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड दुई लाख ३८ हजार रुपैयाँ छ । बैंकले जगेडा कोषमा १४ अर्ब पाँच लाख रुपैयाँ सञ्चित गरेको छ ।
गएको आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ९३ करोड ७१ लाख रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा वृद्धि भए पनि लाभांश क्षमता घटेको छ । अघिल्लो वर्ष १०.४० प्रतिशत लाभांश क्षमता थियो । यो वर्ष बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत मात्र छ ।
बैंकको खराब कर्जा २.८१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.८९ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा छ । प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा छ ।
प्रतिकृया दिनुहॊस