वर्षमान पुन र जनार्दन शर्माले राखे पार्टी नेताहरूको सम्पत्ति छानबिनको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले पार्टी नेताहरूको सम्पत्ति छानबिनको माग गरेका छन् । विधि, पद्धति र विचारसहित पार्टी सञ्चालन गर्न पहिला आफैँभित्र शुद्धीकरण गर्नुपर्ने उनीहरुले बताएका हुन् ।

प्रज्ञाप्रतिष्ठान कमलादीमा जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा शनिबार पार्टीका उपमहासचिव पुनले सरकारले भ्रष्टाचारविरुद्ध गरेको कारबाहीलाई पार्टी शुद्धीकरणसँग पनि जोड्नुपर्ने बताए । ‘सरकारले भ्रष्टाचारविरुद्ध अझै फायर खोल्नु पर्छ। सुशासनको पक्षमा अझ व्यवस्थित रूपमा लाग्नु पर्छ । यसलाई पार्टी र समाजको शुद्धीकरणसँग जोडेर अघि बढ्नु पर्छ । यो हाम्रोसमेत शुद्धीकरण हो,’ उनले भने ।

उपमहासचिव पुनले अगाडि भने, ‘आठौँ महाधिवेशनको राजनीतिक कार्यदिशालाई कार्यक्रमिक रूप दिनुप(यो। विधान परिमार्जन वा विकसित गरेर विधानबमोजिम पार्टी चल्नुपर्‍यो ।’

उनले सुन प्रकरणमा आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै यसबारे छानबिनको माग गर्नुभयो। सुन प्रकरणको छानबिन प्रक्रिया अगाडि बढाउन आग्रह गरे । ‘अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ। कुनै पनि हालतमा यो अभियान रोकिनुहुँदैन,’ उनले भने, ‘छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनु पर्छ। यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनु पर्छ ।’

अर्का उपमहासचिव शर्माले छानबिनको दायरामा रहन आफू तयार रहेको बताए । ‘कसको सम्पत्ति कति छ भनेर छानबिन गरौँ ? कसका घर कति छन् ? कसका के के व्यवसाय छन् ? बैङ्क ब्यालेन्स कति छ ? छानबिनको दायरामा रहन म तयार छु,’ उनले भने ।

उनले आफूले अध्यक्ष प्रचण्डलाई असहयोग नगरेको प्रस्टीकरण दिए । ‘हामी दुई जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ,’ शर्माले भने, ‘सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ। अनि गरौँ के ?’

विधि, विधान, पद्धति र प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइएको उल्लेख गर्दै भने, ‘सरकारले गरेका कामबारे म खुला दिलले प्रशंसा गर्दछु । यत्रो ठुलो आँट र हिम्मत भनेको शुद्धीकरणको महान् थालनी हो ।’

उनले पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्ने, नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्ने बताए । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित क्लस्टरमा निर्वाचन गर्नुपर्ने उनको माग छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री