मिड सोलु हाइड्रोपावरको आइपिओ खुल्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैँ । मिड सोलु हाइड्रोपावरले आज (आइतबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका ७ लाख ४८ हजार ४०० लाख आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

सोमध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दाहरूलाई निष्कासन गर्ने कम्पनीले बताएको छ।

यस्तै, १ लाख ८७ हजार १०० कित्ता सेयर सो बाहेकका सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि खुला गरेको छ।

साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ। सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल रहेको छ। स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, बिक्री प्रबन्धकको वेबसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री