काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिक निषेध अभियानलाई ‘सचेतना, रोकथाम र नियन्त्रण’ विधिबाट कार्यान्वयनमा लैजाने तयारी गरेको छ । महानगरले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात र बिक्रीवितरण गरे जफत गर्ने भएको हो ।
शनिबार नगरप्रहरी बलका अधिकारीहरूलाई प्लास्टिक निषेधको कानुनी प्रबन्ध, यसको व्यवहारिक पक्ष र प्लास्टिकको मोटाइ नाप्ने उपकरण प्रयोगका विषयमा प्रशिक्षण दिएको थियो । प्रशिक्षणमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले, महानगरका वडा, केन्द्र तथा अन्य कुनै पनि कार्यालयमा पोलिथिन झोला प्रवेश नगराउने कामबाट अभियान थालिएको बताए । ‘कार्यालयको प्रवेश द्वारबाट पोलिथिन लैजान रोक्नु पर्छ,’ उनले भने, ‘यसलाई कडाइका साथ पालना गराउनु पर्छ ।’
कामपाले यही साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो माइक्रोनको प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा र माला प्रतिबन्ध लगाइसकेको छ । तर, प्रभावकारी कार्यान्वयन गर्न आइतबारबाट नगर प्रहरी परिचालन गरी ती सामग्री जफत गर्न लागिएको हो । ‘साउन १ गतेदेखि नै प्रहरी टोली परिचालन गर्ने कामपाले तयारी गरेको भए पनि सोही दिनबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्न समस्या भएकोले त्यसमा ध्यान दिन सकिएको थिएन,’ कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले भने, ‘आइतबारबाट भने प्रभावकारी कार्यान्वयन गर्नेछौं ।’
अनुगमन
कार्यक्रम कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन हुनेछ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली यसका लागि खटिनेछन् । टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लास्टिकको जाँच गर्नेछ । जाँचिएका पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गर्नेछ । प्लाष्टिकका फूल, प्लाष्टिकका सजावटका सामानचाहिँ कुनै पनि प्रयोग गर्न पाइँदैन ।



