महोत्तरी । वषौंदेखि लागुऔषध गाँजा कारोबार मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
लागुऔषध गाँजा कारोबार मुद्दामा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह १८ वर्षदेखि र ५४ वर्षीय रामनरेश यादव १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साह विसं २०५७ कात्तिक ४ गतेका दिन आफ्नै घरमा १०१ किलो प्रतिबन्धित लागुऔषध गाँजा राखी बिक्री वितरण गर्न लागेको अवस्थामा प्रहरीले उक्त गाँजा सुराकीको आधारमा छापा मारी नियन्त्रणमा लिएको थियो भने कारोबारी साह घरबाट भाग्न सफल भएका थिए ।
त्यस्तै अर्का कारोबारी यादव वि.सं. २०६० असार २१ गतेका दिन ज १ त ३२२ नं को ट्याक्टरमा बालुवा लोड गरी बालुवाभित्र २०० किलो प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गर्न लागेको अवस्थामा प्रहरीले सुराकीको आधारमा जानकारी पाएपछि जलेश्वर–सम्सी सडकखण्डमा आरोपीले प्रहरीलाई देखेर ट्याक्टर छाडी भागेका थिए ।
घटना लगतै फरार रहेको दुवै अभियुक्त दशैँ मान्नका लागि लुकीछिपी गाउँघरमा आएको जानकारी पाएपछि प्रहरीले दुवैलाई घरैबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुई फरार अभियुक्त पक्राउ
तपाईंको प्रतिकृया




