काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा हालसम्मकै सबैभन्दा बढी विद्युतीय सवारीसाधन भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार गत आर्थिक वर्षभरीमा ४ हजार ५० वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् ।
यो हालसम्मकै सबैभन्दा बढी वार्षिक आयात संख्या हो । गत आर्थिक वर्ष नेपालमा आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा बढी ५० किलोवाट सम्मका ३ हजार ७५९ कार, जीप र भ्यान रहेका छन् ।
यस्तै, ५१ देखि १०० किलोवाटसम्मका २७२ वटा कार, जीप र भ्यान, १०१ देखि २०० किलोवाटसम्मका १५ वटा कार, जीप र भ्यान र २०१ देखि ३०० किलोवाटसम्मका ४ वटा कार, जीप र भ्यान आयात भएको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षमा विद्युतिय सवारीसाधनको आयातमा ११ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षमा ६ हजार ९१४ तीनपाङ्ग्रे विद्युतीय सवारी आयात हुँदा ६७ करोड ६१ लाख रुपैयाँ बाहिरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालमा १ हजार ८०७ विद्युतीय सवारी भित्रिँदा ५ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको थियो ।




