विमानस्थलमा सुन जाँचपास गर्ने कर्मचारी निलम्बित, छानबिनका लागि बन्यो समिति

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई निलम्बन गरिने भएको छ । मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’को नामबाट ठूलो परिमाण तस्करी भएपछि भन्सार विभागले जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने भएको हो ।

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काकाअनुसार भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास पनि जाँचकीले बनाउनुपर्छ ।

यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ । विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको हो । उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्नेछ ।

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो । यसको यकिन विवरण खुलिसकेको छैन । हङकङको क्याथे प्यासिफिक एयरलाइन्सबाट आएको स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा राखेर उक्त सुन ल्याइएको हो । विभागले अहिलेसम्म यसमा संलग्न ६ जनालाई पक्राउ गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री