काठमाडौँ । कांग्रेसको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकअघि नै आज बिहान ९ बजे आफ्नै निवास धुमबाराहीमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका हुन् ।
सहमहामन्त्री किशोरसिंह राठोरका अनुसार बैठकमा निर्वाचन समीक्षादेखि नीति महाधिवेशनका विषयलाई नै प्राथमिकता दिइनेछ । देउवाले बैठकलाई अनौपचारिक छलफल गर्ने भनेर केन्द्रीय समितिको बैठकमा उठ्न सक्ने विभिन्न विरोधका आवाजलाई रोक्ने दाउ गरेको बताइन्छ ।
अघिल्लो वर्ष साउनमा बसेपछि बस्न नसकेको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने भएको छ ।
महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ । सङ्गठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस