काठमाडौँ । काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा आयुर्वेद सेवाको प्रवर्द्धनमा जोड दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले गरेको पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले आयुर्वेद सेवाको प्रवर्द्धन आवश्यकता रहेको बताएका हुन् ।
सोमबार काठमाडौँको सिनामगलस्थित एएफसी क्याफेमा एक कार्यक्रमको आयोजना गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँले आयुर्वेद चिकित्साको महत्त्व, आवश्यकता र सेवाको बारेमा पत्रकारहरूसँग अन्तरक्रिया सञ्चालन गरेको हो । केन्द्रको बारेमा जानकारी दिँदै डाक्टर पुनम नेपालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौँबाट जुनसुकै प्रकारका बिरामीहरूको उपचार सुलभ मूल्यमा भरपर्दो उपचार हुँदै आएको बताइन् ।
बाग्मती प्रदेश सरकारको सहयोगमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्रले सुलभ र विश्वसनीय उपचार गर्दा गर्दै पनि आयुर्वेद उपचारप्रति सरकारको नीतिगत समस्याका कारण आकर्षण घटेको डाक्टर नेपालले बताइन् । उनले भनिन्, ‘सरकारले आयुर्वेद पद्धतिको उपचार विधिलाई परम्परागत उपचार विधि भनेर वर्गीकरण गरेको छ । जसका कारण आयुर्वेद उपचार पद्धतिप्रति बिरामीहरूको आकर्षण घटेको छ ।’
आयुर्वेद उपचार पद्धतिलाई विश्वसनीय र भरपर्दो उपचार विधिको रूपमा लिनुपर्ने डा. नेपालको भनाई छ । उनले पछिल्लो समय दैनिक व्यवहार तथा असन्तुलित खानाका कारण विश्वभरका मानिसहरूमा अस्वस्थ बनेको पनि बताइन् । मौसमअनुसारका खानेकुराहरूसमेत खान डा. नेपालको सुझाव छ ।



