काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दल नेकपा एमालेले विधेयक अगाडि बढ्न नदिन बहानाबाजी खोजेको आरोप लगाएका छन् । बुधबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमालेले विधेयक रोक्न आफूले बोलेको विषयलाई उचालेको आरोप लगाएका हुन् ।
‘प्रतिपक्षले सदन चल्न नदिने अरे । मैले बोलेको छैन । मेरो कुरा भनेको होइन । उनको कुरा भनेको हो । बहाना चाहिएको छ । विधेयक अगाडि बढ्न नदिन । मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोशिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियो । कतिपय दललाई मिटरब्याजीलाई कारबाही गर्न खोजेको कुरा मन परेको छैन । भ्रष्टाचारीलाई कारबाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले सरकार भ्रष्टाचारविरुद्धको लडाईंमा रहेको बताउँदै विगतमा विभाजित भएका माओवादी धारका शक्तिहरू एकतावद्ध भएर ०८४ मा ०६४ भन्दा शक्तिशाली बन्ने दाबी गरे । ‘हामी एउटा लडाइँमा छौँ, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौँ’ उनले भने, ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ । तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्तिहरू एकतावद्ध हुँदैछौं । २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ,’ उनले भने ।
प्रतिकृया दिनुहॊस