पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

“माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ,” प्रधानमन्त्री दाहालले भने ।

‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुन:निर्माण हुँदैन। यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ,’ प्रधानमन्त्रीले अगाडि भने, ‘त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ। हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन,’ उनले भने ।

प्रधानमन्त्रीका अनुसार देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी रहेको छ र सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ।

‘यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ, सरकार यसमा दृढ छ,’ उनले भने, ‘हाम्रा प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने मन छ, यसका लागि के कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने संकल्प गरौँ।”

माओवादीको पहलमा नै समाजवादी मोर्चा घोषणा गरिएको उनको भनाइ छ । ‘आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ” उनले भने, ‘समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।”

“हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ” प्रधानमन्त्रीले भने, ‘सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उग्रतारा मेलामा देउवा दम्पती (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा देहिजात नामले प्रसिद्ध डडेल्धुराको उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सकिएको छ । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले स्थानीय वेद विद्याश्रमका निम्ति भौतिक पूर्वाधार निर्माणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र प्रतिपदाका दिन उग्रतारा मेला लाग्ने गरेको छ ।

प्रतिकृया दिनुहॊस