काठमाडाैं । महालक्ष्मी विकास बैंकले चुक्ता पुँजीको ७ प्रतिशत रकम नगद लाभांश वितरण गर्ने भएको छ । काठमाडौंमा सम्पन्न बैंकको १७ औँ साधारणसभाले सो लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।
चुक्ता पुँजी दुई अर्ब ६३ करोड ३७ लाख ९७ हजार कायम रहेकोमा त्यसको ७ प्रतिशत अर्थात् १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । त्यस्तै, बैंकले चुक्ता पुँजीको ८ प्रतिशतका दरले २१ करोड सात लाख तीन हजार ७९६ रुपैयाँ बोनस शेयर जारी गर्ने विषयमा पनि साधारणसभाबाट स्वीकृति पाएको छ ।
यसपछि गर्दा बैंकको दुई अर्ब ८४ करोड ४५ लाख एक हजार रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । बैंकको कुल निक्षेप गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएर २७ अर्ब २७ करोड पुगेको छ । त्यस्तै, लगानी एक अर्ब ७६ करोड, कर्जा तथा सापटी २१ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको बैंकले जनाएको छ । बैंकको कुल सम्पत्ति भने ३१ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । यो गत अर्थिक वर्षको तुलनामा ८ दशमलव ९१ प्रतिशतले बढी हो ।
बैंकले चालु आर्थिक वर्षबाटै चिप्स बेस्ड कार्ड प्रयोगमा ल्याउने जनाएको छ । बैंकका अध्यक्ष राजेश उपाध्यायले बैंकलाई आगामी दिनमा अझ राम्रो र थप विश्वासिलो बनाउनका लागि बैंकले आधुनिक प्रविधिको प्रयोगमा प्राथमिकता दिने बताए । उनले बैंकले जनताबाट बचत भएको निक्षेपको सही प्रयोग गर्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने गरी काम गर्ने पनि बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आफ्ना शाखाहरूले विविधिकरण र विस्तार गर्दै लगेको जानकारी गराए । बैंकले हालसम्म देशभर ७५ वटा शाखा विस्तार गरिसकेकाे छ । आगामी एक वर्षभित्रमा थप २० वटा शाखा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस